काठमाडौं : सानिमा लाइफ इन्सुरेन्सले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।
यता, कम्पनीले हालसम्म पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन । कम्पनीले बोर्डमा आवेदन दिएर अनुमति पाएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।







