चैत १३, काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ ।
कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा शुक्रवार अपरान्ह १ बजे भएको बाँडफाँटमा ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । विक्री प्रबन्धकले योग्य आवेदक १७ लाख ९७ हजार ८३५ जना आवेदकमा गोलाप्रथाको माध्यमद्वारा आईपीओ बाँडफाँट गर्दा १२ लाख ३ हजार ८३५ योग्य आवेदकको हात खाली भएको हो ।
कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो ।
कुल कित्तामध्ये ५ प्रतिशत कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि बाँडफाँट पश्चात आम सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गरिएको हो ।
उक्त कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापिटलको भनाइ छ । कुल आवेदकमध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्ध भएको समेत क्यापिटलले जानकारी दिएको हो । कुल आवेदकमध्ये १२ लाख ४८ हजार ४८० जनाले शेयर नपाएका हुन् ।








