मर्जका लागि हिमालयन र इन्भेष्टमेन्ट बैंक सहमतिनजिक पुगेका छन्। प्रारम्भिक रूपमा सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) सम्पन्न भएको छ। प्रारम्भिक डिडिए रिपोर्टबारे दुवै पक्ष सकारात्मक देखिएका हुन्।
डिडिएले पूर्णता पाएपछि मर्जका लागि सम्झौता (एमओयु) हुनेछ। इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले दुवै पक्ष मर्जका लागि सकारात्मक रहेको जानकारी दिए।
'मर्जका लागि अहिलेसम्म जति पनि प्रारम्भिक कामहरू भइरहेका छन्, सकारात्मक दिशामा गइरहेको छ,' पाण्डेले सेतोपाटीसँग भने, ‘केही दिनपछि तपाईंहरूले राम्रो समाचार पाउनुहुनेछ।’
धेरै वित्तीय सूचकमा दुवै बैंक राम्रा छन्। दुवैको साधारण सेयर मूल्यमा पनि त्यति ठूलो अन्तर छैन। स्राेतका अनुसार स्वाप रेसियो नै १ बराबर १ को रूपमा रहने सम्भावना देखिएको छ।
यसको अर्थ, दुईमध्ये जुन बैंकको सेयर जति छ, लगानीकर्ताले मर्जपछिको बैंकको सेयर त्यति नै पाउने छन्। एमओयुका लागि अहिले डकुमेन्ट बनाउने काम सुरू भएको छ।
मर्जपछिको हिमालयन-इन्भेष्टमेन्ट बैंक सबभन्दा ठूलो हुनेछ। दुवै बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण समायोजन गर्दा चुक्ता पुँजी करिब २५ अर्ब हुनेछ, जुन हालका वाणिज्य बैंकहरूको तुलनामा सबभन्दा उच्च हो।








