शेयर बजार करेक्सनको बाटोमा लागेको छ । तर, ठूला लगानीकर्ताहरु भने अतालिएर शेयर बिक्री गर्न नहुने बताउँदै आएका छन् ।
गत साताको आइतबार अहिलेसम्मकै उच्च अंक २६४१.०३ अंकमा पुगेको नेप्से एक हप्ताकै बीचमा १६६.६४ अंकले घटेर २४७४.३९ मा आएको छ । यसलाई लगानीकर्ताले करेक्सन भन्दै आएका छन् ।
एक वर्षअघि १२०० अंकको नजिक रहेको नेप्से निरन्तर उकालो लागेर २६४१ अंक भन्दा माथि पुगेको थियो । त्यसपछि पुनः करेक्सन भएर २४७४.३९ मा आएको छ । यसलाई लगानीकर्ताले समान्य रुपमा लिएका छन् ।
शेयर बजारमा उत्तार चढाव सधै भइरहन्छ । यसलाई सामान्य रुपमा लिनु पर्ने लगानीकर्ताहरुको बुझाइ छ ।
नेपाल उद्योग बाणिज्य महासंघ पुँजी बजार फोरमका सभापति तथा ठूला लगानीकर्ता अम्बिका प्रसाद पौडेलले आफ्नो फेसबुक पेजमा ‘पूँजी बजारमा धैर्यता गुमायौं भने सँगै ठूलो धनपनि गुमाउँछौं । गन्तब्य धेरै माथि छ । धैर्य लगानीकर्ता बनौं,’ भन्दै साना लगानीकर्तालाई ढाडस दिन पुगेका छन् ।
अस्थिर राजनीतिले गर्दा निरन्तर उकालो लाग्दै गएको नेप्सेमा ब्रेक भएको लगानीकर्ता ललित ढुंगानाले बताए । ‘सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने फैसला गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले कसको सरकार बन्ने लगायतका अन्याैलका कारणले शेयर बजार घटन पुगेको हुनसक्छ,’उनले भने।’यसैगरी केही ठूला लगानीकर्ताले सर्वाेच्चकाे फैसलापछि मात्र शेयर किन्ने रणनीति अख्तियार गरेका कारण अहिले बजार घटेकाे हुनसक्छ।’







