काठमाण्डौ । पुँजीबजारमा लगानी गर्ने उद्देश्यले ४ वटा संस्थान मिलेर नयाँ स्टक डिलर ल्याउने भएका छन्।
सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी मिलेर नयाँ स्टक डिलर ल्याउन लागेका हुन्। सामाजिक सुरक्षा कोषको लगानी कार्यविधि गत मंसिर १० मा मन्त्रिस्तरीय बैठकद्वारा पारित भएकाले अब कोषलगायत अन्य ३ संस्था मिली स्टक डिलर ल्याउने तयार गरेका हुन्। कोषले सहायक कम्पनी स्थापना गरेर स्टक डिलर ल्याउन पहल भइरहेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए। कोषको ऐनमा कोषले पुँजीबजारमा १५ प्रतिशत लगानी गर्नसक्ने व्यवस्थालाई टेक्दै कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको संयुक्त लगानीमा स्टक डिलर आउने भएको ज्ञवालीले बताए।
लगानी कार्यविधि स्वीकृति भएसँगै कोषले डिबेन्चरमा पनि लगानी अघि बढाइसकेको बताउँदै ज्ञवालीले सहवित्तीयकरण कर्जामा समेत लगानी गर्न नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि माग गरेको बताए। यस्तै कोषले लगानी कार्यविधिअन्तर्गत नै उपयुक्त र राम्रा परियोजनाहरुमा पनि कोषको फन्ड लगानी गर्ने जनाएको छ।







