'कारबाही गर्न कानून छैन'
११ फागुन, काठमाडौं । सेयर बजार एउटा जोखिमकै बजार हो । बजारमारे राम्रो ज्ञान भएकाहरुले कमाउँछन् भने हल्लाको भरमा लगानी गर्नेहरुले गुमाउछन् । सामान्यतया घटेको बेला किन्ने र बढेको बेला बिक्री गर्नेहरुले राम्रै कमाउँछन् ।
कतिपय कम्पनीहरुको हल्लैहल्लाका कारण सेयर मूल्य उच्च बिन्दुमा पुग्छ । बजार बढेको देखेपछि सोझा लगानीकर्ताहरुले किन्छन् र त्यसपछि घट्न थाल्छ । जब घट्न थाल्छ, पुँजीको अभाव भएका कारण किनेको भन्दा कम मूल्यमा सेयर बेच्न बाध्य हुन्छन् । अहिले बजारमा खासगरी धेरै बाठाहरुले कमाउने र सोझा लगानीकर्ताहरु घाटामा जाने गरेको सेयर बजारका विष्लेषक प्रकाश तिवारी बताउँछन् ।
केहि हल्लाको भरमा सेयर मूल्य घटाउने वा बढाउनेसम्मका काम हुन्छन् । धेरैले चाहिँ सूचना चुहाएर बजारमा चलखेल गर्ने गरेको विश्लेषक तिवारी सुनाउँछन् । पछिल्लो समय बजारमा सूचना चुहाएर ‘इन्साइडर ट्रेडिङ’ हुने क्रम व्यापकै भएको विश्लेषक तिवारीको दावी छ ।
अब २ वटा उदाहरण हेरौँ, लगानीकर्ताहरु कसरी फस्छन् । पहिलो घटना- केहि साता अघि नेपाल क्रेडिट एण्ड कमर्स बैंक -एनसीसी)को सेयर मूल्यमा एकाएक उल्लास छायो । बैंकको सेयर किन्न लगानीकर्ताहरुको ठूलो समूह देखियो । एनसीसीको सेयर मूल्य अस्वभाविक रुपमा बढे पछि विभिन्न आशंकाहरु भए ।
केहि दिन अघिमात्रै चौधरी समूहका परिवारका सदस्यले यो बैंकको सेयर किनेको विषयलाई लिएर नविल बैंकसँग मर्जरमा जादैछ भनेर चर्चा गरियो । केहि सञ्चारमाध्यममा समेत यस्ता समाचार आउन थालेपछि एनसीसी बैंकको सेयर मूल्य निकै बढ्यो ।
सेयर मूल्य बढ्नु पर्ने केही आधारभूत कारणहरु हुन्छन् । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी भन्छन्, ‘त्यो कम्पनीको मूनाफा कस्तो आयो, यसले कति लाभांश घोषणा गर्छ लगायतका विषयले सेयर मूल्यमा असर गर्छ ।’ एनसीसी बैंकमा मूल्य बढ्ने किसिमका केहि सूचना थिएनन् । ...







