फागुन १०, काठमाडौं । आईपीओ निष्कासन गर्ने तयारीमा रहेका नयाँ आठ ओटा जीवन बीमा कम्पनीको नाफा कुल १७ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा युनियन लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीको नाफामा वृद्धि भएको छ । गत आवको तुलनामा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा चालू आवमा १७ दशमलव ९१ प्रतिशतले कमी आएको हो ।
चालू आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कमाएको हो । कम्पनीले सो अवधिमा रू. १७ करोड ७९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३४ प्रतिशतले वृद्धि भएको हो । चालू आवको दोस्रो त्रैमाससम्म आठ ओटा कम्पनीले कुल रू. १६ अर्ब ६ करोड ६७ लाख बीमाशुल्क आर्जन गरेका हुन् । ...







