ठूला व्यवसायीको लगानी व्यवस्थापनमा ब्रोकर लागेको दाबी
साताको अन्तिम दिन बजारमा मूल्य घट्नेभन्दा बढ्ने कम्पनीको संख्यामा वृद्धिसँगै लगानीकर्ताको सम्पत्तिको मूल्य पहिलोपटक २६ खर्ब रुपैयाँ नाघेको छ । लगानीकर्ताको पछिल्लो बजार मूल्यअनुसार कुल सम्पत्तिको मूल्य २६ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको हो ।
बजारमा केही ब्रोकरले ठूला व्यवसायीहरूकै लगानी व्यवस्थापन गरिदिने गरेकाले पनि बजारमा लगानी अभाव नघटेको एक लगानीकर्ताले बताए । ‘ब्रोकरहरूले केही ठूला व्यवसायीको अर्बौँ रुपैयाँसम्म लगानी व्यवस्थापन गरिदिइरहेका छन्,’ उनले भने, ‘यसले बजारमा पुँजीको अभाव देखिएको छैन, तर यसरी उनीहरूले व्यवस्थापन गर्दा चाहिएको कम्पनीहरूको मूल्य बढाउने र फाइदा उठाउँदै बेच्ने प्रवृत्ति मौलाएको छ ।’
धितोपत्र बोर्डले केही महिनाअघि गरेको अध्ययनले समेत केही कम्पनीहरूको सेयर कारोबारमा कर्नरिङ भइरहेको निष्कर्ष निकालेको थियो । यद्यपि, अध्ययन सार्वजनिक गर्ने र कारोबारको थप अध्ययन भने गरिएन ।बिहीबार भने नेप्से परिसूचक करिब २६ अंकले बढेर हालसम्मकै उच्च बिन्दु २ हजार ६ सय ३६ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका २ सय ६ धितोपत्र तथा ऋणपत्रमध्ये १ सय ३ को मूल्य बढेको, ८४ वटाको मूल्य घटेको छ । बजार उच्च बिन्दुमा पुग्दा लगानीकर्ताले तुलनात्मक रूपमा साना र सस्ता मूल्यका कम्पनीहरू उठाइरहेका छन् ।







