काठमाडौं : बैंकिङ समूहले सेयर बजारलाई डोर्याउन थालेको छ । बैंकहरुमा चमक आउन थालेपछि नेप्से २६०० विन्दुमाथि सजिलै अडिन पनि सकेको छ । केही दिनयता बैंकहरुको भाउ क्रमशः बढिरहेको छ । अरु समूहका तुलनामा भाउ सस्तो, लाभांश क्षमता पनि औसतमा राम्रो अनि वित्तीय र नियमनका हिसाबले समेत निकै सबल रहेकाले पनि बैंकहरुको सेयरतर्फ लगानीकर्ता आकर्षित भएको अनुमान छ ।
अरु क्षेत्रमा भन्दा आपूर्ति बढी भए पनि बैंकहरुको लगानी सबैभन्दा बढी सुरक्षित मानिएको छ । त्यही भएर पनि सस्ता सेयरतर्फ लगानीकर्ता आकर्षित भएका हुन् । बैंकहरुको नाफा, प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी अनुपात लगायतका सूचकहरु हेर्दा पनि भाउ तुलनात्मकरुपमा निकै तल देखिन्छ । बैंकहरुमा उत्साह देखिएका बेला अरु धेरैजसो समूहहरुको भाउमा भने केही करेक्सन आएको छ ।
यसअघि अरु समूहमा चमक आउँदा बैंकहरु सुस्त बनेका थिए । यसआधारमा समूह घुमाईघुमाई कारोबार भइरहेको देखिन्छ । यसले बजारलाई पनि थप परिपक्व बनाएको विश्लेषणहरु भइरहेका छन् । यसपटक हकप्रदको बाढी नआएकाले पनि कम्पनीहरुको प्रतिसेयर आम्दानी, नेटवर्थ लगायतका महत्वपूर्ण सूचकहरुमा खासै असर नगर्ने देखिएको छ । यसअघिको बुल बजारलाई हकप्रदले बेस्सरी प्रभावित पारेको थियो ।





s_2_18_2021_3_16_05.jpg)

