सर्वसाधारणहरुलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेका जीवन बीमा कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार ८ जीवन बीमा कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा देखिएको हो।
चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार, एक कम्पनीले एक शीर्षकमा दाबेदारी प्रस्तुत गर्दा अर्को कम्पनी अर्को शीर्षकमा अब्बल देखिएको छ।
नयाँ १० जीवन बीमा कम्पनीहरुमा रिलायन्स लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सले मात्रै सर्वसाधारणलाई आईपीओ जारी गरिसकेका छन्। अझै ८ जीवन बीमा कम्पनीहरुले सर्वसाधारणलाई आईपीओ निष्काशन गरेका छैनन्।
युनियन, ज्योति, सिटिजन, रिलायवल, आइएमई, सानिमा, सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्न बाँकी छ। उक्त कम्पनीहरुले सर्वसाधारणको लागि ५ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने तयारी थालिरहेका छन्।
खुद बीमाशुल्क १० अर्ब ८० करोड माथि, युनियनको मात्रै २९.६९ प्रतिशत योगदान
यस अवधिसम्ममा आईपीओ निष्काशनको तयारीमा रहेका ८ वटा जीवन बीमा कम्पनीहरुले १० अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्।
यसमा सबैभन्दा धेरै २०७४ असोज ६ गतेदेखि व्यवसायिक कारोबार शुरु गरेको युनियन लाइफको मात्रै २९.६९ प्रतिशत अर्थात ३ अर्ब २० करोड ७४ लाख रुपैयाँको योगदान रहेको छ। यस्तै, सबैभन्दा कम २०७५ माघ २७ गतेदेखि व्यवसायिक कारोबार शुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४२ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो।
खुद बीमाशुल्क आर्जनको आधारमा युनियनपछि ज्योति लाइफ इन्स्योरेन्स रहेको छ। ज्योतिले यस अवधिमा एक अर्ब ३९ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। यस्तै, सिटिजन लाइफले एक अर्ब ३७ करोड ५३ लाख रुपैयाँ, रिलायवल लाइफले एक अर्ब ३१ करोड रुपैयाँ र आइएमई लाइफले १ अर्ब २० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
बाँकि कुनैपनि कम्पनीले खुद बीमाशुल्क अर्ब कटाउन सकेका छैनन्। सानिमा लाइफले ९५ करोड ६३ लाख रुपैयाँ र सन नेपाल लाइफले ९१ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेको छ।







