काठमाडौं : बैंकिङ समूहमा तेजी देखिएको छ । बैंकहरुको सेयरतर्फ लगानीकर्ता आकर्षित हुन थालेपछि भाउहरु क्रमशः बढ्न थालेको हो । केही वाणिज्य बैंकहरुको कारोबार रकम ठूलो देखिएको छ । बैंकिङ समूहमा तेजी आएकै कारण नेप्से सूचक २६०० विन्दु माथि टिक्न समेत सक्ष्म भएको छ । बैंकहरुको नाफा, प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी अनुपात लगायतका सूचकहरु हेर्दा पनि भाउ तुलनात्मकरुपमा निकै तल देखिन्छ ।
औसतमा भाउ सस्तो भएपछि लगानीकर्ताहरु यतातर्फ आकर्षित भएको अनुमान छ । तथापि, बैंकहरुको भाउ सुस्त हिसाबले वृद्धि भइरहेको छ । कारोबार भएका सेयर कित्ता र रकम पनि राम्रो छ । बैंकहरुमा उत्साह देखिएका बेला अरु धेरैजसो समूहहरुको भाउमा भने करेक्सन आएको छ । यसअघि अरु समूहमा चमक आउँदा बैंकहरु सुस्त बनेका थिए । यसआधारमा समूह घुमाईघुमाई कारोबार भइरहेको देखिन्छ ।
यसले बजारलाई पनि थप परिपक्व बनाएको विश्लेषणहरु भइरहेका छन् । बुधबार बैंकिङसहित ट्रेडिङ लगायत समूह पनि चम्किएका छन् । सेयर बजार बुल रनमा हिँडिरहेको छ । बुलिस बजारलाई बैंक तरलता र सस्तो ब्याजदरले साथ दिएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर सजिलै कर्जा दिइरहेका छन् । चक्रीय नियम अनुसार पनि बजार अझै लामो समय बुल रनमै हिँड्ने विश्लेषणहरु भइरहेका छन् ।







