शेयर बजारले सकारात्मक गति लिएसँगै वर्षै पहिले खरिद गरि राखिएका शेयरहरु धमाधम निस्किन थालेका छन्। पहिले पहिलेको शेयर खरिद बिक्री भएको समयमा शेयरको भारित औषत गणना ब्रोकर कम्पनीले गर्ने गरेका थिए।
पछिल्लो समय शेयर बजारमा विस्तारै प्रविधि विकास भएसँगै भारित औषत गणना लगानीकर्ता स्वयमले गर्ने व्यवस्था भएको छ। यस्तो अवस्थामा नयाँ तथा आफ्नो आम्दानीको केहि प्रतिशत रकम बजारमा लगानी थप गर्दै आएका लगानीकर्ताहरुलाई सिडिएसिले विकास गरेको भारित औषत गणना गर्ने प्रकृयामा अलमल भएको पाइएको छ।
अर्को कम्पनीसँग मर्जरमा गएको शेयरको भारित औषत गणना सम्बन्धी लगानीकर्तामा दोधार उत्पन्न भएको छ। विशेष गरी, लगानीकर्ताहरुले वर्षौ पहिले खरिद गरेर प्रमाणपत्र दराजमा थन्काइ राखेका कम्पनीहरुको शेयर मर्जरपश्चात अहिले अर्को कम्पनीको शेयरमा परिणत भएपछि भारित औषत गणना गर्न अन्याैल भएको हो।
केन्द्रिय निक्षेप कार्यालय सिडिएससिले भारित औसत लागत गणना विधिमा लागत गणना र घोषणाको अधिकार,जिम्मेवारी र दायित्व लगानीकर्ता स्वयमलाई दिएको छ। तर लगानीकर्ताहरुलाई वर्षौ पहिले खरिद गरेको अहिले अर्को बैंकसँग गाभिँदा लागत गणना कसरी गर्ने भन्ने दोधार भएको हो।
मकवानपुका हरि सिलवालले २०७१ सालमा कैलाश विकास बैंकको प्रतिकित्ता ४६५ रुपैयाँका दरले ५०० कित्ता शेयर कुल दुई लाख ३२ हजार ५०० रुपैयाँमा खरिद गरेका थिए।
उक्त कम्पनीको भौतिक शेयर धारण गरेको सिलवालले बताउँछन्। पछिल्लो समय शेयर बजारले उच्च विन्दु कायम बढेको समयमा उनले उति वेला खरिद गरेको कैलाश विकास बैंकको शेयर सम्झना आएर बिक्री गर्न खोज्दा कैलाश विकास बैंकको कुनै अस्तित्व नै नरहेको थाहा पाए। सुरुमा यो बैंक अब छैन भन्दा मनमा आफूले गरेको लगानी डुब्ने हो कि भन्ने मनमा चिसो परेको अनुभव सुनाउछन्।
पछि शेयर बजार सम्बन्धी जानकारी राख्ने व्यक्तिहरुसँग बुझ्दा उक्त बैंक अहिले प्राइम कर्मशियल बैंकमा विलय भएको थाहा पाएको बताउछन्। करिब ६ वर्ष पहिले कैलाशको ५ सय कित्ता शेयर खरिद गरेका उनीसँग अहिले कम्पनीले वर्षेनी वितरण गर्ने बोनस शेयर सहित ७९१ कित्ता पुगेको थियो। कैलाश विकास बैंकलाई प्राईम कर्मशियले ९४ प्रतिशका दरले प्राप्ती गरेको थियो। जस अनुसार सिलवालसँग प्राईम कर्मसियल बैंकको ७४३.५४ कित्ता शेयर हुन आउँछ।
सिलवाल उक्त बैंकको शेयर बिक्री गर्ने सोच बनाएका छन्। तर उक्त कम्पनीको शेयरको भारित औसत गणना गर्ने बारेमा जानकार नभएको मेरोलगानीलाई बताए। भारित औषत गणना गर्दा आफूले शेयर खरिद गरेको भन्दा थारै मूल्य गणना गर्दा यति वर्षसम्म फ्रिज भएको लगानी नोक्सानी हुने होकी भन्ने र धेरै भए भोली कर कार्यालयको नजरमा पर्ने पो हो की भन्ने उनमा डर उत्पन्न भएको छ।








