काठमाडौं : सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । समग्र नेप्से सूचकमा करेक्सन आए पनि बैंकिङ समूहको सूचक भने वृद्धि भएको छ । वाणिज्य बैंक, विकास बैंक तथा म्युचुअल फन्ड समूहका सूचक बढेका हुन् । पछिल्लो समय विशेषगरी बैंकतिर लगानीकर्ता आकर्षित भइरहेका छन् । बैंकको सेयर तुलनात्मकरुपमा सस्तो भएको अनि अहिले कायम भाउका आधारमा प्रतिफल औसतमा बढी भएकाले पनि लगानीकर्ता यतातिर आकर्षित भएका हुन् ।
भाउ निकै तल्लो विन्दुमा रहेका बैंकहरुमा चमक आउँदा यसले समग्र सेयर बजारको विकास र स्थायित्वमा पनि सहयोग पुग्ने भएको छ । यो बजारको दीगो सुधारका लागि पनि सकारात्मक पक्ष हो । यता, बजार करेक्सन भइरहँदा पनि सेयर कारोबार रकम उत्साहपूर्ण रहेको छ । यो पनि बजारका लागि निकै सकारात्मक पक्ष हो । यसले बजारमा पर्याप्त मात्रामा क्रेता र बिक्रेता रहेको बुझ्न सकिन्छ ।
बजार लगातार बढिरहनु पनि त्यति राम्रो होइन । यसर्थ, बेलाबेला करेक्सन हुँदै अघि बढ्दा थप बलियो हुने विश्लेषकहरु बताउँछन् । सेयर बजार अहिले बुल रनमा हिँडिरहेको छ । यसर्थ, लगानीकर्तामा धैर्यता आवश्यक छ । यस्तो बेला बजार हेर्ने, बुझ्ने र मनन् गर्नेतर्फ पनि उत्तिकै ध्यान दिन आवश्यक हुने अनुभवीहरु सुनाउने गर्छन् ।







