पाटनमा बसोबास गर्दै आएका अष्टराज श्रेष्ठले अघिल्लाे आईतबार (माघ १८ गते) टिएमएस लिनको लागि ब्रोकर कार्यालयमा अनलाईन फारम भरेका थिए । तर, अाज मंगलबार (माघ २७ गते) सम्म पनि आफूले दोस्रो बजारमा कारोबार गर्ने आईडि र पासवर्ड नपाएको गुनासो गर्छन्।
युजरनेम र पासवर्ड छिट्टो सुचारु गर्नको लागि ब्रोकर कार्यालयमा फोन गर्दा आफु जस्तै टिएमएस लिने अरु लगानीकर्ताहरुको संख्या पनि धेरै भएकाले ढिला भएको भन्ने जवाफ पाएको श्रेष्ठले बताए।
प्रभु लाइफ इन्स्योरेन्सदेखि आईपीओ भरेका उनले गत साता नै शेयर बिक्री गर्ने सोचाइमा आइतबार आवेदन दिएका थिए। तर, आफुले सोचेको समयमा टिएमएस नआएपछि गत बुधबार बजारमा सो कम्पनीको शेयरमूल्य उच्च विन्दुमा पुगेको बेला हेरेर बस्नु बाहेक अन्य विकल्प रहेन।
केही समय अघि कम्पनीहरुको आईपीओमा आवेदन दिनका लागि लाम लागेका मानिसहरु अहिले ब्रोकर कार्यालयमा भेटिन थालेका छन्। प्राथमिक बजारमा खरिद गरेको शेयर बिक्री गर्नको लागि ब्रोकर कार्यालयहरुमा टिएमएस खोल्ने लगानीकर्ताहरुको भिड बढ्न थालेको हो। यस वर्ष निष्काशन भएका आईपिओ शेयरमा लगानी गरेर छोटो समयमा नै राम्रो आम्दानी भएपछि आम मानिसहरु शेयर बजार प्रति आकर्षित भएको पाइन्छ।
अष्टराज श्रेष्ठ मात्र नभइ यसरी पछिल्लो समय प्राथमिक बजार हुँदै दोस्रो बजारमा भित्रिने लगानीकर्ताहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। शेयर बजारमा उछाल आएसँगै शेयर बजार प्रति आम मानिसहरुको आकर्षण बढेको हो। यसका साथै कोरोनाको प्रकोप र धितोपत्र बजारमा भएका सुधारका कारण पनि धेरै मानिसहरु यसतर्फ आकर्षित भएका हुन्।
प्राथमिक बजारबाट दोस्रो बजारमा प्रवेश गर्नको लागि अनलाईन प्रणाली टिएमएस लिन लगानीकर्ताहरुले तत्काल पाउन सकिरहेका छैनन्। दोस्रो बजारमा प्रवेश गर्नका लागि युजरनेम र पासवर्ड लिनको लागि लगानीकर्ताहरुले हप्ता दिन भन्दा बढी कुर्न परेको बताएका छन्। ब्रोकरहरुमा टिएमएस लिनेहरुको संख्या बढोत्तरी भएपछि कारोबार गर्न युजर नेम र पासवर्ड लिन पर्खनु पर्ने भएको हो।







