काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचकको उकालो गतिसँगै दैनिक कारोबार रकमले समेत निकै दरिलो साथ दिइरहेको छ।
सेयर बजार उकालो लागेसँगै पुराना लगानीकर्ताले आफूसँग भएको सेयर होल्ड गर्ने र नयाँ लगानीकर्ता तथा संस्थागत लगानीकर्ताको उत्साहपूर्ण प्रवेशले समेत बजार गुल्जार भइरहेको छ। ‘विगत सातादेखि नै निरन्तर बढ्दो क्रममा बजार बन्द भइरहेको छ। जसका कारण बुलिस क्यान्डलमा यो हप्ता स्पाइनिङ टप ग्रिन क्यान्डल बनाएको छ’, सेयर बजार प्राविधिक विश्लेषक अशोककुमार शाह भन्छन्, ‘बुल र बियरबीचमा बुल नै हावी छ। रातो भएको भए लगभग करेक्सन आउँथ्यो, त्यसैले अब बजार बढेर नै जान्छ।’
बजार यो साता पनि माथि नै जाने देखिएको दाबी गर्दै शाह होटेल समूहबाहेक अन्य समूह बुलिस नै रहेको बताउँछन्। बजारको सूचक र उपसमूहको सूचक करेक्सन गएको खण्डमा त्यसलाई खरिदको अवसरका रुपमा लिइनुपर्ने उनको बुझाइ छ।







