प्राथमिक शेयर निष्कासनमा जान सक्ने कम्पनी १६ सय २९ वटा पुगेका छन्। पब्लिक कम्पनीमा रूपान्तरण हुँदै ती सबै कम्पनी आइपिओमा जान सक्ने भएका हुन्। कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार शुक्रवारसम्म दुई लाख ३७ हजार ९ सय २० कम्पनी दर्ता भएका छन्। जसमा १६ सय २९ कम्पनी पब्लिक छन्।
कार्यालयका अनुसार धितोपत्र निष्कासन गर्नका लागि सबैभन्दा पहिले कम्पनी पब्लिकमा रूपान्तरण हुनुपर्छ। अनि मात्रै कम्पनीहरूले सर्वसाधारणबाट शेयर जारी गर्दै पूँजी सङ्कलन गर्न सक्छन्। पब्लिक कम्पनीको रुपमा दर्ता हुने बित्तिकै कम्पनीहरूले सर्वसाधारणमा शेयर जारी गर्दै पूँजी सङ्कलन गर्न पाउदैनन्। उनीहरू पब्लिकमा रूपान्तरण भएको एक वर्षपछि मात्रै सर्वसाधारणमा जान सक्छन्। यति गर्दा पनि सर्वसाधारणमा जान सजिलो भने छैन। विभिन्न निकायसँग लिनु पर्ने अनुमतिका कारण पब्लिक कम्पनीलाई सर्वसाधारणमा जान थप दुई वर्षसम्म लाग्न सक्छ। यति गर्दा पनि सबै पब्लिक कम्पनी शेयर निष्कासनको अनुमति पाउँछन् भन्ने छैन्।
यति हुँदा हुँदै पनि यति बेला दुई सय भन्दा बढी कम्पनीहरू पब्लिकमा तत्कालै जान सक्ने सूचीमा देखिएका छन्। जसमा केही कम्पनी पब्लिकमा गई सकेका पनि छन्। कम्पनी रजिष्ट्रारको कार्यालयले सबै कम्पनीहरूमा २५५ कम्पनीहरू पब्लिकमा जान सक्ने भन्दै सूची तयार पारेको हो। उसले तयार पारेको सूचीमा एक लाख रुपैयाँदेखि चार अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनी छन्। उनीहरूलाई सम्भाव्यताको आधारमा पब्लिकमा जान सक्ने सूचीमा राखिएको हो। सूचीमा भएका सबैलाई निष्कासन अनुमित दिने निकायले भने एक पटक भेरिफाइ गर्न सक्ने बताइएको छ।सूचीमा भएका कम्पनीहरूलाई सरोकारवाला निकायले पव्लिकमा जान प्रोत्साहन गर्न सकुन् भन्ने उद्देश्यले कार्यालयले यस्तो विवरण तयार गरेकाे जनाएको छ।
मुलुकको आर्थिक वृद्धि,कम्पनीमा जनसहभागिता,सरकार र नियामक निकाय अनि सरोकार वालाहरूलाई सर्वसाधारणमा जान सक्ने कम्पनीको पहिचान गर्न सहज होस् भन्दै कार्यालयले यस्तो सूचि तयार गरेको हो।
"कार्यालयमा दर्ता हुने पब्लिक कम्पनी धेरै छन्। जसमा तत्कालै पब्लिकमा जान सक्ने कम्पनी भने सीमित देखिएका छन्। उनीहरूको पहिचान गर्न सरोकारवालाहरूलाई सहज होस् भन्दै कार्यालयले पब्लिकमा जान सक्ने कम्पनीको सूची तयार पारिदिएको हो" कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रदीपराज अधिकारीले मेरो लगानीसँग भने।







