काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धेरै वर्षदेखि वार्षिक साधारणसभा नगर्ने र त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुको सूची माग गरेको छ।
धितोपत्र बोर्डले नेप्सेसँग त्यस्ता कम्पनीहरुका सूची माग गरेको हो। साथै, बोर्डले त्यस्ता कम्पनीको धितोपत्र कारोबारमा रोक लगाउन पनि नेप्सेलाई निर्देशन दिएको छ।
नेप्सेका सीईओ चन्द्रसिंह साउदले धितोपत्र बोर्डबाट धेरै वर्षदेखि वार्षिक साधारणसभा नगर्ने र त्रैमास वित्तीय विवरण पनि सार्वजनिक नगर्ने सूचीकृत कम्पनीको सूची माग गरेको बताए। ‘अहिले नेप्सेको सूचीकरण विभागले अध्ययन गरी त्यस्ता कम्पनीहरुका सूची तयार गर्ने काम गरिरहेको छ।’







