पछिल्ला केही हप्तामा नेपालको पुँजी बजारमा अप्रत्याशित उतार चढाव देखिएको छ। नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले नयाँ रेकर्ड कायम गरेको छ। उता कारोबार रकममा समेत नयाँ रेकर्ड यसैबिच बनेको छ। जताततै शेयर बजारको चर्चा छ। मुलुकको राजनीतिका तरलताको भन्दा शेयर बजारमा आएको उछालको बारेमा मानिसहरू चिया गफ गरिरहेका भेटिन्छन्।
तर, शेयर बजारमा यसरी देखिएको उत्साह सर्वसाधारणको लागी कति घातक हुनसक्छ भन्नेबारेमा भने चिन्तन भएको देखिँदैन। न त यो कोणबाट विचार सम्प्रेषण नै भएको पाइन्छ। त्यसैले यहाँ शेयर बजारको वाही–वाही नभएर यसले साना लगानीकर्तालाई कहाँ पुराउँछ र किन सजग रहनु आवश्यक छ भन्ने विषयमा विमर्श गर्न खोजिएको छ।
शेयर बजार सम्बन्धी सत्य यो हो कि वर्तमान आर्थिक-राजनीतिक प्रणालीमा यो एक धोखाधडीको अस्त्र हो। शेयर बजार सत्यको यो धारिलो छुरा द्वारा छियाछिया भैसकेको छ तर यसमा लागेका गम्भीर घाउहरू सहज रूपमा सामान्य आँखाले देख्न सकिँदैन। नेपालको पुँजी बजार घाइते छ तर कसैले पनि यो आम मनिसका लागि घातक छ भन्ने आँट गर्दैन।
शेयर मार्केटमा देखिएको भिडले यस्ता कुरा सुन्न मान्दैन किनभने हामी सत्यलाई कहिले पनि सहज रूपमा स्वीकार गर्दैनौँ। त्यस कारण शेयर बजारका चर्चा र कुराकानी उत्साहजनक रहन्छन्। सबै उत्तेजनामा देखिएका छन् किनकि सावधानीपूर्वक निर्माण गरिएको भ्रमको विषयमा सबै बेखबर छन्।







