हरेक दिन जसो शेयर बजार बढिरहेको छ। दोस्रो बजारले अहिले सम्मकै सबैभन्दा बढी कारोबारको इतिहास रचिसकेको छ। एकै दिनमा नौ अर्ब ६८ करोड रुपैयाँको कारोबार गर्दै इतिहास रचेको हो।
हरेक दिन शेयर बजारमा किन्ने र बेच्ने दुवै बराबरी छन्। लगानीकर्ताले शेयर बजारकै इतिहासमा चालु वर्ष सबैभन्दा बढी मुनाफा गरेका छन्। गएको छ महिनामा जति नेपालका शेयर कारोबारीले कहिल्यै कमाएका थिएनन्। चालु आर्थिक वर्षको पुस मसान्तसम्म लगानीकर्ताले ६७ अर्ब रुपैयाँको हाराहारीमा नाफा गरेका छन्। उनीहरूले उक्त नाफा गरेकै आधारमा सरकारलाई पुस मसान्तसम्म चार अर्ब १७ करोड रुपैयाँ पूँजीगत लाभकर नै बुझाइ सकेका छन्। पूँजीगत लाभकर नाफामा मात्रै लाग्ने गर्छ। यही आधारमा लगानीकर्ताले त्यति रकम नाफा गरेको देखिएको हो।
हरेक दिन बेच्नेले नाफा कमाएका छन् भने किन्नेले थप नाफा हुने आशमा दैनिक शेयर किनिरहेका छन्। किन्नेले पनि थप नाफा हुन्छ भन्ने विश्लेषणकै आधारमा शेयर किनिरहेका हुन्। तर बजारमा अचम्म लाग्दो कुरा के देखिएको छ, भने शेयर बेच्नेले आएको नाफालाई अन्यत्र लान सकिरहेको छैनन्।
दैनिक बढिरहेको बजारले शेयर बेच्नेहरूलाई थकथकी बनाउँदै लगेको छ। यो भन्दा बढी बढ्दैन होला भनेर शेयर बिक्री गर्नेहरूको शेयर भोलिपल्टै देखि बढ्न थालेपछि उनीहरूलाई बढेको बजारले थकथकीमा पार्न बाध्य बनाउँदै लगेको हो। यही आधारमा लगातार बढेको बजारले धेरैलाई पुन: बजार पस्न बाध्य बनाउँदै लगेको छ। "दैनिक बढिरहेको बजारले लगानीकर्तालाई मोहनी लगाउँदै लगेको छ। उनीहरूलाई यो बजारले निस्कनै दिएको छैन। कोही निस्कन खोज्छन्। तर भोलिपल्टैबाट आफुले बेचेको शेयर बढेको बढै गर्दा उनीहरूले मन थाम्न सकिरहेका छैनन्। जसले गर्दा केही समयपछि उनीहरु नै पुन: शेयर किन्दै बजार पसिरहेको समेत देख्न थालिएको छ," नेपाल इन्भेष्टर फोरमा उपाध्यक्ष तुलसीराम ढकालले भने।
...







