राज्यको नजरमा सधैँ उपेक्षित रहने गरेको शेयर बजारले कोभिडको असरले थलिएको अर्थतन्त्र उकास्न ठूलो राहत प्रदान गरेको छ।
सङ्कटको बेलामा बढेको शेयर बजारले अर्थतन्त्रलाई ठूलो टेवा पुर्याएको छ। कोभिडको समयमा सबैतिर बन्दाबन्दीको वातावरणमा समेत शेयर बजारले सर्वसाधारणदेखि ठूला व्यवसायीलाई आर्थिक सङ्कटबाट जोगाएको छ। उनीहरूलाई आर्थिक सङ्कटबाट मात्रै जोगाएन बढेको बजारले तरलता चलायमान गराउन समेत ठूलो मदत गरेको बताइएको छ।
नेपाल राष्ट्र बैंकले कोभिडले अर्थतन्त्रमा निकै ठूलो असर गर्ने प्रक्षेपण गरेकाे थियो। लगानीको वातावरण बिग्रँदा र बन्दाबन्दीले बैंक वित्तीय संस्थाको खराब ऋणको ग्राफ समेत उकालो लाग्ने प्रक्षेपण गरिएकाे थियो। सर्वसाधारण,व्यवसायी र बैंकरहरुले समेत पुस मसान्तपछि खराब ऋण बढ्ने अनुमान गरेका थिए।केन्द्रीय बैकको सहुलियतले जोगिएका बैंकले पुस मसान्त पछि खराब ऋणको वास्तविक छवि आउने बताउँदै आएका थिए।
तर सबैले गरेका अनुमान विपरीत पछिल्ला तथ्याङ्क सार्वजनिक भएका छन्।पहिलो त्रैमासको तुलनामा वाणिज्य बैंकको खराब ऋणको रेसियो झिनो अन्तरले मात्रै वृद्धि भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा २६ वाणिज्य बैंकको औसत खराब ऋणको वृद्धि दर ०.०३ प्रतिशत मात्रै देखिएको छ। यो पहिलो त्रैमासको आधारमा देखिएको हो। दोस्रो त्रैमासमा वाणिज्य बैकहरुले साेचेभन्दा राम्राे वित्तीय विवरण सार्वजनिक गरेका छन्।२६ वटा वाणिज्य बैंकले दोस्रो त्रैमासमा प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार १५ बैंकको खराब ऋण घटेको छ भने ११ वटा बैंकको मात्रै खराब ऋण बढेको छ। खराब ऋण बढ्नेमा पनि उनीहरूको वृद्धि निक्कै न्यून छ।







