चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा लघुवित्त कम्पनीहरुमा कोरोनाको असर देखिन थालेको छ। लघुवित्त कम्पनीहरुको खुद नाफा बढाए पनि खराब कर्जा भने बढ्दै गएको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरेका एक दर्जन लघुवित्तमा अधिकाँश लघुवित्तको खराब कर्जा उच्च रुपले बढेको छ। दोस्रो त्रैमासको वित्तीय विवरणमा महिला लघुवित्तको खराब कर्जा सामान्य घटेपनि अन्य सबैको उच्च रुपले बढेको छ।
वित्तीय विवरणमा अधिकाँश लघुवित्त कम्पनीहरुको खराब कर्जा ४ प्रतिशतभन्दा माथि पुगेको छ। अहिलेको अवस्थामा ४ प्रतिशत खराब कर्जा भनेको सामान्य नै भइसकेको लघुवित्तकर्मीहरु बताउछन्।
हालसम्म दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका प्रायः सबै लघुवित्तको खराब कर्जा बढेको छ। वित्तीय विवरण सार्वजानिक गरेकामध्ये सामुदायिक लघुवित्तको खराब कर्जा सबैभन्दा धेरै बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २.१७ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा चालु आर्थिक वर्षको सोहि अवधिमा बढेर ९.२९ प्रतिशत पुगेको छ।






