सुवास निरौला
दोस्रो बजारमा हुने शेयर कारोबारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकरबीच तीव्र प्रतिस्पर्धा देखिन थालेको छ। दैनिक कारोबारी बढाउने विषयमा उनीहरूको तीव्र प्रतिस्पर्धा देखिएको हो।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार सोमबारसम्म दोस्रो बजारमा कारोबार गर्न सात लाख आठ हजार १५९ लगानीकर्ता आबद्ध भएका छन्।जसमा सबैभन्दा बढी लगानीकर्ता अनलाइन सेक्युरिटिज मार्फत दोस्रो बजारमा आबद्ध भएका छन्।अनलाइन सेक्युरिटिज मार्फत ३९ हजार ६५९ लगानीकर्ता दोस्रो बजारमा कारोबारको लागि आबद्ध छन्।
दोस्रो बजारमा लगानीकर्ता आवद्ध गराउनेमा दीपशिखा धितोपत्र कारोबार कम्पनी दोस्रो नम्बरमा छ। उसका ३७ हजार ३५२ लगानीकर्ता छन्। सबैभन्दा धेरै लगानीकर्ता आबद्ध गराउनेहरूको क्रममा नासा सेक्युरुटिज तेस्रो नम्बरमा छ। उसका ३७ हजार ३३४ लगानीकर्ता छन्।
तीन महिना अघिसम्मको तथ्याङ्कमा सबैभन्दा बढी लगानीकर्ता आबद्ध गराउनेको ब्रोकर कम्पनीहरूको सूचिमा निकै ठूलो परिवर्तन देखिएको छ। तीन महिना अघिसम्म सबैभन्दा बढी लगानीकर्ता आबद्ध गराउनेको सूचिमा सबैभन्दा अघि दीप शिखा धितोपत्र कम्पनी रहेको थियो। तर उसको पहिलो स्थानको ताजलाई गत सोमबारसम्म आउँदा अनलाइन सेक्युरिटिजले खोसेको छ। तीन महिना अघि छैठौ स्थानमा रहेको अनलाइन सेक्युरिटिज एका एक पहिलो नम्बरमा उक्लिएको छ भने दीपशिखा धितोपत्र कारोबार कम्पनी दोस्रो स्थानमा झर्न बाध्य भएको छ।
पछिल्लो तीन महिना उत्कृष्ट प्रदर्शन गर्दै नासा सेक्युरिटिज एक स्थान माथि उक्लिँदै तेस्रो नम्बरमा पुगेको हो। तीन महिना अघि नासा चौथो नम्बरमा थियो। नासा र अनलाइनले आफ्नो स्थानलाई थप बलियो बनाउँदै लगेका छन् भने राम्रो स्थान ओगटेका शनि र दीपशिखा भने वृद्धि दरमा थोरै खुम्चिएका छन्। दीपशिखाले एक स्थान गुमाएको छ भने शनि दोस्रो स्थानबाट चौथोमा झरेको छ।
तीन महिना अघि सबैभन्दा पुछारमा रहेको अरुण सेक्युरुटिजले एक स्थान सुधार गरेर ४७ औ स्थानमा उक्लिएको छ भने पछिल्लो समय सगरमाथा सेक्युरुटिज पुछारमा पुगेको छ।







