काठमाण्डौ । तीन महिनामै धितोपत्र कारोबार मापक नेप्से परिसूचक ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। सूचकको वृद्धिसँगै दैनिक कारोबार रकम र कुल बजार पुँजीकरणले समेत नयाँ–नयाँ रेकर्ड कायम गरेको छ।
हिजो बिहीबारमात्रै दैनिक कारोबार रकम रु. ९ अर्ब ८९ करोड बढी कारोबार भएको छ भने गत बुधबार कुल बजार पुँजीकरण ३२ खर्ब ८९ अर्ब रुपैयाँ बढी पुगेको छ। सूचक उकालो लागेसँगै बलियो बन्दै गरेको लगानीकर्ताको उच्च मनोबलका कारण दैनिक कारोबार रकम र बजार पुँजीकरणसमेत अझै बढ्न सक्ने बुझिएको छ।
विगत ३ महिनादेखि बजार लगातार उकालो गतिमै दौडिरहेको देखिन्छ। गत सेप्टेम्बर ३० मा नेप्से परिसूचक १५४९.६० अंक रहेकोमा त्यसलगत्तै बजारले उकालो गति समाउँदै अहिले ३ महिनापछि सूचक २४२५.२९ अंक कायम हुन पुगेको छ। यो ३ महिनाको अवधिमा बजारले ८७६ अंकको फड्को मारेको देखिन्छ जुन ५६.५५ प्रतिशत बढी वृद्धि भएको छ।







