१६ माघ, काठमाडौं । सेयर बजारमा दुईवटा बजार हुन्छन्– प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक भनेको आवेदन दिएर सेयर किन्ने हो । कुनै कम्पनीद्वारा सर्वसाधारणका लागि जारी साधारण सेयर (आईपीओ) किन्न आवेदन दिनु प्राथमिक बजारमा प्रवेश गर्नु हो । दोस्रो बजारमा भने सिधै प्रवेश गरेर सेयर कारोबार गर्न सकिन्छ ।
दोस्रो बजारमा सेयर कारोबारका लागि लगानीकर्ताले धितोपत्र ब्रोकरकहाँ जानुपर्छ । लगानीकर्ताको आदेशबमोजिम सेयरको खरिद र बिक्री गरिदिनका लागि धितोपत्र बोर्डबाट अनुमतिप्राप्त कम्पनीलाई स्टक ब्रोकर भनिन्छ । यस्ता कम्पनीहरु हाल देशमा ५० वटा रहेका छन् । उनीहरुको थप ४८ शाखा गरी जम्मा ९८ वटा कार्यालयबाट ब्रोकर कम्पनीहरुले सेयर किनबेचको सेवा दिइरहेको नेपाल स्टक ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट बताउँछन् ।







