काठमाडौं : बैंकिङ समूहमा गिरावट आएपछि सेयर बजार सामान्य प्रभावित भएको छ । बिहीबार अधिकांश वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित वित्तीय विवरणमा धेरै जसो बैंकहरुको नाफा सन्तोषजनक देखिएको छैन । तथापि, केहीले भने कोरोना कहर र घट्दो स्प्रेड दरकाबीचमा पनि राम्रो मुनाफा आर्जन गरेका छन् । यसलाई भने सकारात्मक मान्नुपर्छ ।
धेरैको नाफा घटेको यही रिपोर्टलाई आधारमा मानेर बिहीबार विशेषगरी बैंकिङ समूहमा धेरै ह्रास देखिएको छ । यसको समग्र प्रभाव नेप्से सूचकमा देखिएको हो । तर खरिदबिक्री रकममा भने उत्साहजनक सुधार हुँदै आएको छ । करिब ९ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ । यो अहिलेसम्मकै धेरै कारोबार रकम हो । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा हाइड्रोपावर लगायतका समूहहरुमा ह्रास आएको छ ।
तथापि, निर्जीवन बिमा, उत्पादनमूलक तथा माइक्रोफाइनान्स समूहमा राम्रो तेजी आएको छ । समग्र नेप्सेमा बैंकिङ समूहहरुको योगदान बढी रहेकाले नेप्से सूचकमा भने ह्रास देखिएको हो । सेयर बजारमा बुल रनमा हिँडिरहेको छ । यस्तो बेला लगानीकर्ता धेरै आत्तिनु पनि हुँदैन । जोखिम बहन क्षमतालाई ख्याल गर्दै सेयर होल्ड गर्दा भविष्यमा राम्रो लाभ लिन सकिने सम्भावना रहन्छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता, सस्तो ब्याजदर अहिलेका सकारात्मक पक्ष हुन् ।







