लगानीकर्ताहरु अझै शेयर कारोबार गरे बापतको रकम भुक्तानी गर्न ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य भएको छैन । नेपाल राष्ट्र बैंकले शेयर कारोबारमा विद्युतीय भुक्तानीको सीमा हटाएको भनेपनि लगानीकर्ताहरु चेक बोकेर ब्रोकर कार्यालय धाउन बाध्य भएका हुन् ।
पछिल्लो समय शेयर कारोबार अनलाईन प्रणाली मार्फत नै हुँदै आएको छ । शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि ब्रोकर र लगानीकर्ताहरुलाई विद्युतीय कारोबार गर्नको लागि प्रेरित गर्दै आएको छ । यद्यपि लगानीकर्ताहरु भने अझै शेयर कारोबार वापतको रकम भुक्तानीका लागि चेक बोकेर ब्रोकर जानुपर्ने समस्याबाट मुक्ति पाउन सकिरहेका छैनन् ।
कुनै व्यक्तिगत लगानीकर्ताले १० लाखभन्दा माथिको कारोबार गरेमा अझै चेक भुक्तानी लिन÷दिन ब्रोकर कार्यालय धाउनै पर्ने भएको हो । व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट रकम भुक्तानी गर्न राष्ट्र बैंकको नीति बाधक भएको लगानीकर्ताको आरोप छ । व्यक्तिगत लगानीकर्ताहरुले १० लाख रुपैयाँ भन्दा धेरै रकम बराबरको शेयर खरिद गर्दा विद्युतीय भुक्तानी गर्न राष्ट्र बैंकको नीति बाधक बनेको उनीहरुको भनाई छ ।
नेपालीहरु विद्युतीय भुक्तानी गर्नको लागि अभ्यस्त भइ नसकेको र आम नागरिकको बचतको सुरक्षा गर्नको लागि पनि विद्युतीय करोबार सीमा राखेको राष्ट्र बैंकले बताएको छ । यदि नागरिकहरु विद्युतीय कारोबार गर्दा झुक्किए धेरै रकम भुक्तानी भएमा उनीहरुको बचतको जोखिम हुने केन्द्रिय बैंककाे भनाई छ ।
अहिलेको बजारमा करिव दैनिक १० अर्ब रुपैयाँको कारोबार हुनु सामान्य जस्तै भएको छ । व्यक्तिगत ग्राहकको लागि विद्युतिय भुक्तानीमा सीमा बनाउदा दैनिक कारोबार रकममा समेत असर परेको लगानीकर्ताहरुको भनाई छ । कारोबार गरे वापतको रकम बुझाउन ब्रोकर जानुपर्ने झन्झटले पनि आफूहरुलाई १० लाखभन्दा माथिको शेयर खरिद गर्न मन नलाग्ने उनीहरुको भनाई छ ।
ब्रोकरबाट ग्राहकहरुको खातामा रकम भुक्तानी गर्नको लागि कुनै समस्या नभएको स्टक ब्रोकर एसोशियसन नेपालका अध्यक्ष सन्तोष मैनाली बताए । तर व्यक्तिगत लगानीकर्ताहरुले गर्ने रकम भुक्तानीमा सीमा भएको कारण भने आफूहरुले समेत समस्या भोग्नु परेको मैनालीको भनाई रहेको छ । शेयर खरिद बिक्री गर्दा रकम भुक्तानी गर्ने सम्बन्धमा ब्रोकर र लगानीकर्तालाई नै सहज हुने गरी व्यवस्था गर्नु पर्ने मैनालीको जोड छ ।







