१५ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा कम्पनीले सेयर ‘स्प्लीट’ गर्ने प्रस्ताव राख्ने भएको छ । नेपाली सेयर बजारका लागि यो विल्कुलै नयाँ अभ्यास हुनेछ ।
भएको सेयरलाई खण्डीकरण गरेर संख्या बढाउनु ‘स्टक स्प्लीट’ हो । नेपाल लाइफले १ कित्ता सेयरलाई २ कित्ता बनाउने प्रस्ताव साधारण सभामा लैजाँदैछ । साधारण सभाबाट प्रस्ताव पारित भएर नेपाल धितोपत्र बोर्डले पनि स्वीकृति दिए नेपाल लाइफको सेयर खण्डीकरण भएर अहिलेको सेयर कित्ता दोब्बर हुनेछ ।
खण्डीकरण भएको सेयरको मूल्य भने अहिलेकै जति रहँदैन । अहिले अंकित मूल्य प्रतिसेयर एक सय रुपैयाँ छ । कम्पनीले अंकित मूल्य ५० बनाउन खण्डीकरण गर्न लागेको हो । स्टक स्प्लीट हुँदा कित्ता बढ्छ र मूल्य आधा हुन्छ ।
जस्तो– सोमबार नेपाल लाइफको सेयर मूल्य २ हजार ८४९ रुपैयाँ थियो । सोही मूल्यमा स्प्लीट हुने हो भने यसको आधा १ हजार ४२५ रुपैयाँ ५० पैसा सेयर मूल्य कायम हुनेछ । कित्ता संख्या भने दोब्बर हुनेछ ।
सेयर बजारका जानकार दिलिप मुनकर्मी स्प्लीटले थप कित्ता आपूर्ति र बजारमा कारोबार सहज बनाउने बताउँछन् । विद्यमान कारोबार प्रणालीमा प्रचलित प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य भए कम्तिमा १० कित्ता कारोबार हुनुपर्ने व्यवस्था छ । १० अंकित मूल्यको भए सय कित्ता र एक हजार रुपैयाँ अंकित मूल्य रहेको डिबेञ्चरको कम्तिमा २५ कित्ताको कारोबार गर्नु पर्ने व्यवस्था छ ।







