काठमाडौं : नेप्सेमा वाणिज्य बैंकहरुमा फेरि चमक देखिएको छ । यस समूहको सूचकमा सोमबार तेजी आएको हो । व्यापार, निर्जीवन र अन्य समूहको सूचक पनि तेजी देखिएको छ । खरिदबिक्री रकममा पनि उत्साह आउनेक्रम जारी छ । पछिल्ला दिनहरुमा आम लगानीकर्ताका लागि मनोवैज्ञिानिक हिसाबले महत्वपूर्ण हुने विन्दहरु नेप्सेले क्रमशः पार गर्दैअघि बढिरहेको छ । नेप्से सूचक तथा अन्य उपसूचकहरुले पनि धमाधम नयाँ उचाईहरु बनाइरहेका छन् ।
जीवन बिमा उप समूहको सूचक १७ हजार विन्दु नजिक छ । निर्जीवन बिमा समूह पनि १२ हजार विन्दु नजिक आउनै लागिसकेको छ । अन्य कतिपय समूह र कम्पनीहरुको भाउमा पनि नयाँ रेकर्डहरु बन्न थालेका छन् । समग्र पुँजी बजारमा उत्साह बढ्दै जाँदा समूहगत र कम्पनीगत आधारमा नयाँ कीर्तिमानहरु बन्न थालेका हुन् ।







