यो अठारौँ शताब्दीका एक हीरा व्यापारीको कथा हो। केही मान्छेले हीरा रहेको आशंका गरेको ठाउँ देखाइदिएपछि उनले आफ्ना सारा स्रोत र क्षमता लगाएर जमिन खन्न सुरु गरेछन्। महिनौँसम्म उनले खने। खन्दा–खन्दा एकातिर खाल्डो पर्दै गयो भने अर्काेतिर खनेर फालेको माटोले डाँडो बन्दै गयो।
लामो समय ती व्यापारीले कोसिस गरे तर हीरा भेटिने कुनै लक्षण देखिएन। उनी थकित भए। आफ्नो स्रोत र धन सबै सिकियो तर हीरा भेटिएन। त्यसपछि उनले आफ्ना सबै साधन र सामग्री लिलामीमा एकजनालाई बेचे र आफ्नो हीराखानीको सपना बीचमै छोडेर घर फर्किए।
त्यो लिलामीमा समान किनेका व्यक्तिले भने अलिक फरक तरिकाले सोचे। उनले काम सुरु गर्नुभन्दा पहिला खानीसम्बन्धी विज्ञ तथा प्राविधिकलाई ल्याएर देखाए। अर्थात काम सुरु गर्नुभन्दा पहिले विज्ञ तथा प्राविधिकसँग सल्लाह गरेर सम्भाव्यताको खोज गरे। प्राविधिकहरुले हीरा रहेको संकेत दिए। फलस्वरुप केही समयमा त्यहीँ ठाउँमा हीरा भेटियो र लिलामीमा समान किन्ने हीराका मालिक बने।







