गत साताभरमा नेप्से परिसूचक ८८ दशमलव १० अंकले बढेको छ । नेप्से हालसम्मकै उच्च बिन्दुमा आइपुग्दा दैनिक कारोबार औसत करिब ७ अर्ब रुपैयाँ पुग्न थालेको छ । साताभरमा कुल ३४ अर्ब रुपैयाँको सेयर किनबेच भएको हो । यो अघिल्लो साताको तुलनामा ५० प्रतिशतले वृद्धि हो । दैनिक औसत कारोबार रकम भने २० प्रतिशतले बढेर ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
लगानीकर्ताको सेयर सम्पत्तिमा करिब ४ प्रतिशतले वृद्धि भएर ३१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । सबै समूहका लगानीकर्ताले औसत ९० प्रतिशतका दरमा लगानी बढाएका छन् । होटेल, जीवन बिमा, व्यापारमूलक, ‘अन्य’ समूहमा कारोबार अघिल्लो साताको तुलनामा १ सयदेखि ३ सय प्रतिशतसम्म वृद्धि भएको छ ।
सातामा बैंकिङ, उत्पादनमूलक समूहगत परिसूचकमा मात्रै गिरावट आएको छ । सञ्चित नोक्सानी कायमै रहेको कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले सातामै ६० प्रतिशतसम्म कमाएका छन् । अघिल्लो साता ३ सय ४१ रुपैयाँमा कारोबार भइरहेको बैंकको सेयर गत साता अन्त्यमा ५ सय ४७ रुपैयाँ पुगेको हो । बैंकको पहिलो त्रैमासमा नाफा घटेर ५६ लाखमा सीमित भएको र ७ करोड ४२ लाख रुपैयाँ सञ्चित नोक्सानी छ । गत साता एनआइसी एसिया र बैंक अफ काठमाण्डूको बोनस सेयर सूचीकृत भएको छ । कुल २ करोड ९५ लाख कित्ता सेयर बजारमा थपिएको हो ।







