प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा निष्काशन भएको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी को बाँकी रकम कहिले उठाउला भन्ने प्रश्न लगानीकर्ताहरुले गर्न थालेका छन्।
पछिल्लो समय शेयर बजारको गतिसँगै हाईड्रोपावर कम्पनीको शेयरमा लगानीको आकर्षण बढेपछि लगानीकर्ताहरु उक्त कम्पनीको दोस्रो किस्ता सम्बन्धमा चासो राख्न थालेका छन्। योसँगै शेयर बजारमा यो चर्चाको विषय बन्न थालेको छ।
“नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युतको शेयरधनी” भन्ने कार्यक्रम अन्तर्गको पहिलो कम्पनी माथिल्लो त्रिशूली थ्री बी को बाँकी रकम कहिले उठाउछ? भन्ने बारेमा खोजी हुन थालेको हो।
कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म ३७ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गरेको थियो। त्यतिबेला कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले अावेदन खुलाएकाे थियाे।
उक्त कम्पनीको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएपछि दोस्रो किस्ता 'कल' गर्ने बताईएको थियो । पहिलो 'कल' गरेको करिब तीन वर्ष भईसक्दा पनि कम्पनीको दोस्रो 'कल' सम्बन्धी कुनै तयारी नभएको भन्दै लगानीकर्ताहरुले गुनासो गर्न थालेका छन्।
उक्त कम्पनीमा प्रधानमन्त्री र तत्कालिन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समेत उक्त कम्पनीको शेयरमा आवेदन दिएका थिए। जसमध्येमा उनीहरु लगायत अन्य लगानीकर्ताहरुले त्यसको १० प्रतिशतको दरले शेयर धारण गरेका छन्।







