नेपाल लाइफ इन्स्योरेन्सले हाल कायम प्रतिशेयर अंकित मूल्य १०० लाई घटाएर ५० कायम गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेसंगै पुँजीबजारमा त्यसले तरङ्ग ल्याएको छ। कम्पनीले अहिले भएको शेयर संख्या दोब्बर हुने गरि शेयर खण्डीकरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले अहिले भएको शेयर संख्या दोब्बर पार्ने र प्रति शेयर चुक्ता मूल्यलाई आधा अर्थात् ५० कायम गर्ने प्रस्ताव गरेको हो ।अर्थात् यदि कुनै शेयरधनीसँग १०० कित्ता शेयर छ भने उसको शेयर संख्या २०० हुन्छ भने प्रति कित्ता शेयरको अंकित मूल्य ५० हुन्छ । अंकित मूल्यको आधारमा शेयरधनीको सम्पतीको १० हजार नै रहन्छ । अर्थात यसले लगानीकर्तालाई घाटा गर्दैन।
तर सेयरको मुल्य कम गराएर कम्पनीको सेयरमा लगानीकर्ताको पहुँच बढाउँन सेयर टुक्र्याउने अर्थात सेयर स्प्लिट गर्ने नेपाल लाइफको रणनीतिमा कानुन बाधक बन्न सक्ने देखिन्छ। बजारमा कम्पनीको सेयर मुल्य अत्यधिक भएको अवस्थामा सिमित व्यक्तिको पहुँच मात्र रहने हुनाले कम्पनीको सेयर टुक्र्याउने अन्तराष्ट्रिय अभ्यास छ।
नेपालमा हालसम्म ५० रुपैयाँ अंकित शेयर मूल्य भएका कम्पनी छैनन् । नेपालको लागि यो नौलो अभ्यास भएकोले नेपाल लाइफ इन्स्योरेन्सले शेयर स्प्लिट गर्न कानुन बाधक हुन्छ कि भन्ने विषयमा पनि छलफल सुरु भएको छ । ...






