काठमाडौं : सेयर बजार बुधबार सकारात्मक देखिएको छ । छिनछिनको उतारचढावका बाबजुत पनि नेप्से हरियै भएर बन्द भएको हो । अन्तिम प्रहरमा बजार थप बलियो देखिएको हो । यसअघि लगातार बढेको बजार मंगलबार केही करेक्सन भएको थियो । यतिबेला सेयर बजार २३ सय अंक माथि हिँडिरहेको छ । सूचकले निरन्तरजसो माथिल्लो रेखाहरु कोर्दै गएपछि लगानीकर्ता थप उत्साहित भएका छन् ।
बजार अझै कति बढ्ला अनि कहिलेसम्म वृद्धिक्रम जारी रहला भन्ने पनि आम लगानीकर्तामा निकै चासो र कौतुहलता रहेको देखिन्छ । बजार विश्लेषकहरुका अनुसार बुलिस प्रवृत्तिमा बजार अझै लामो समय रहन सक्छ । किन भने विगतमा पनि बुलिस बजार ४–५ वर्षसम्म टिकेको थियो । बैंक ब्याजदर, अधिक तरलता लगायतका प्रमुख पक्षले पनि साथ दिइरहेको छ । बेलाबखत सानाठूला करेक्सन आए पनि समग्रमा बजारको गति माथितिरै हुनेछ ।






