काठमाडौं : विगत केही महिनादेखि सार्वजनिक कार्यक्रममा देखा नपरेका चिनियाँ अर्बपति ज्याक मा पुनः सार्वजनिक भएपछि अलिबाबाको सेयर भाउमा उछाल आएको छ । चिनियाँ सामाजिक सञ्चालमा ज्याक मा सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो बाहिरिनासाथ हङकङमा सूचीकृत अलिबाबाको सेयर भाउ ५% ले बढेको छ । माले आफ्नो लोक कल्याणकारी संस्था ‘ज्याक मा फाउन्डेसन’ को आयोजनामा ग्रामीण भेगका शिक्षकहरुलाई सम्बोधन गरेका थिए ।
हराएको खबर बाहिरिएको झण्डै ३ सातापछि मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन् । अलिबाबा र एन्ट ग्रुपका संस्थापक चिनियाँ अर्बपति ज्याक मा नोभेम्बरदेखि सार्वजनिक कार्यक्रमहरुमा देखा नपरेपछि बेपत्ता भएको आशंका गरिएको थियो । ५६ वर्षीय अर्बपति मा पछिल्लो समय एन्ट गु्रपको आइपीओलाई लिएर चर्चामा आएका थिए ।







