काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको प्रिअलटमेन्ट आज बुधबार हुने भएको छ ।
सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका सीइओ पारसमणि ढकालले चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओको प्रिअलटमेन्ट आज हुन गइरहेको जानकारी दिए । चन्द्रागिरीको आइपीओ बाँडफाँड भने आगामी शुक्रबार साँझ प्रयास गरेका छौं यदि भएन भने शनिबार बिहान गर्ने तयारी छ,ढकालले बिजशालासँग भने ।
चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।







