ललितपुर छम्पीकी बिन्दा अधिकारीको परिवारले मेरो शेयर खाता (डिम्याट अकाउण्ट) खालेको तीन वर्ष जति भयाे। बिन्दा सदस्य रहेको सहकारीमा काम गर्ने एक बहिनीको आग्रहमा दुई छोरी, एक छोरा र श्रीमानसहित परिवारका पाँच सदस्यले खाता खालेको उनी बताउँछिन्।
ती बहिनीको सल्लाहमा दुईवटा जलविद्युत कम्पनीको आइपीओमा बिन्दाले उतिबेला आवेदन पनि दिइन् तर त्यसपछि उनको परिवारको कसैको पनि डिम्याट खाता सक्रिय रूपमा सञ्चालनमा छैन। बिन्दा भन्छिन्, 'आम्दानीको राम्रो स्रोत भनेर ती बहिनीको सल्लाहमा खाता खोले तर पछि विश्वास नै लागेन,' उनी थप्छिन्, 'छिमेकी र आफन्तले पनि शेयर भनेको जुवा हो हामी जस्ता सोझा मान्छेलाई काम छैन, फसिन्छ भनेपछि त्यता मनै गएन।' तीन वर्ष पहिले भरेको जलविद्युतको शेयर आफूलाई परे नपरेको वा के कति नाफा छ? भन्ने समेत उनलाई जानकारी छैन।
सञ्चयकोषका सञ्चयकर्ताले अनिवार्य भर्न पाउने भएपछि माथिल्लो तामाकोशीको आईपीओमा सीतापाइलाका सुदन क्षेत्री पहिलोपटक शेयर बजारमा जोडिए। शेयर बजारबाट आम्दानी हुने भन्दै उनले दाजुभाई, भाउजू, बुहारी र बुबा आमासहित सातजनाको डिम्याट खाता खोले। माथिल्लाे तामाकोशीको आईपीओपछिका एक दुईवटा आईपीओमा परिवारका सबै सदस्यहरुको आवेदन पनि उनले नै दिए। सुदन आफैले भने केही समय दोस्रो बजारबाट केही शेयर किने पनि। केही आईपीओसहित दोस्रो बजारबाट किनेको तीन चार वर्ष अघिदेखिको लक्ष्मी बैंकको शेयर आफ्नो खातामा रहेको सुदन बताउँछन्। 'अरु नै काममा व्यस्त हुन थालियो, बजारबारे सहयोग र सिकाउने साथी पनि विदेश हिँडेपछि खासै चासो गएन,' उनले मेरोलगानीसँग भने।
शेयर बजारमा इन्ट्री भएका तर, सञ्चार तथा सूचना अभाव र समाजमा व्याप्त भ्रमका कारण निष्क्रिय रहेका सुदन र बिन्दा त प्रतिनिधि पात्र मात्रै हुन्। नेपालको शेयर बजारमा यस्ता पात्र लाखौंको संख्यामा छन्।
प्राथमिक बजारमै निष्क्रिय छन् आधा लगानीकर्ता
शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डका अनुसार झण्डै २५ लाख लगानीकर्ताको नाममा डिम्याट खाता खुलेको छ। तर, गत पुस २४ मा खुलेर पुस २८ गते बन्द भएकाे चन्द्रागिरी हिल्सको आईपीओ आवेदन हेर्दा आधाभन्दा धेरै मानिस अझै प्राथमिक बजारमा निष्क्रिय रहेको देखिन्छ। साे समयमा २४ लाखमध्ये जम्मा १२ लाख लगानीकर्ताले आईपीओमा आवेदन गरेको बोर्डले जनाएको छ। उक्त आईपीओ नेपालमा हालसम्मकै सबैभन्दा बढीले भरिएको हो। यस अघिको दुईवटा बीमा कम्पनीको आईपीओमा पनि ५ लाखको मात्रै आवेदन परेको थियो।
हाल शेयर बजारमा सक्रिय रहि दैनिक रुपमा कारोबार गर्नेको संख्या ४० हजारदेखि ५० हजार रहेको बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।







