काठमाडौं : पुँजी बजारको वृद्धि सोमबार पनि जारी छ । बजारले पछिल्ला दिनहरुमा लगातारजसो नयाँ उचाईहरु तय गरिरहेको छ । सूचक वृद्धि हुँदैजाँदा अल टाइम हाई रेकर्ड कायम हुँदै गएको हो । नेप्से २३ सय विन्दु माथि लागेपछि लगानीकर्तामा थप उत्साह देखिएको छ । माघ लागेसँगै बैंक तथा वित्तीय संस्थाको आधारदर थप सस्तो भएको छ । आधारदर सस्तो हुनु भनेको ब्याजदर थप घट्नु हो ।
ब्याजदर थप घट्दा सेयर बजार अझै वृद्धि हुने स्पष्ट संकेत देखिएको विश्लेषकहरुको भनाई छ । ब्याजदर निरन्तर घट्दा निक्षेपकर्ता निरुत्साहित भएका छन् । अनि, निक्षेपकर्ताहरु पनि सेयर बजारतिरै आउने क्रम बढिरहेको ब्रोकरहरुको भनाई छ । सेयर बजार बढ्दै जाँदा आम लगानीकर्ताको निकै उच्च मनोबल देखिएको छ । हाम्रो बजार जहिले पनि चक्रीय प्रणालीमा हिँड्ने गरेको छ ।
यसबीचमा नेप्सेले ४ वर्ष लामो वियरिस यात्रा पार गरेर विगत दुई वर्षयता विस्तारको क्रममा रहेको छ । अहिले बजारको बुलिस प्रवृत्ति जारी छ । बजार बुलिस क्रममा रहँदा लगातार भाउहरु वृद्धि भइरहनुलाई स्वभाविक मानिन्छ । वित्तीय प्रणालीमा अधिक तरलता अनि सस्तो ब्याजदरले सेयर बजार वृद्धिमा निकै राम्रो भूमिका खेलिरहेको देखिन्छ । बैंकहरुले पनि सहज तरिकाले सेयर कर्जा प्रवाह गरिरहेका छन् ।







