२९ अंकले बढ्दा लगानीकर्ताको सम्पत्ति ३१ खर्ब रुपैयाँभन्दा बढी
सामान्य करेक्सन हुने, फेरि बढ्ने प्रवृत्तिसहित अगाडि बढेको नेप्सेले अन्ततः पहिलोपटक २ हजार ३ सय बिन्दु पार गरेको छ । आइतबार नेप्से करिब २९ अंकले बढेर २ हजार ३ सय १५ बिन्दुमा आइपुगेको हो । कारोबार रकममा वृद्धिसहित बजार बढेको हो । यस दिन कुल ६ अर्ब ३७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । २ सय ८ धितोपत्र तथा ऋणपत्रको कारोबार भएकोमा १ सय ३० को मूल्य बढेको र ६६ वटाको मूल्य घटेको हो । कुल बजार पुँजीकरणसमेत नयाँ उचाइमा पुगेर ३१ खर्ब १८ अर्बबराबर भएको छ ।
यस दिन जलविद्युत्बाहेक कारोबारमा आएका सबै समूहगत परिसूचकमा वृद्धि भएको छ । व्यापारमूलक, विकास बैंक, अन्य र लघुवित्त कम्पनी समूहगत परिसूचक सबैभन्दा धेरैले बढेको हो । यी समूहमा क्रमशः ९ दशमलव २४, ४ दशमलव ६१, ३ दशमलव ४ र ३ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ ।







