आठवटा बीमा कम्पनीहरुले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न लागेका छन्। सिटिजन लाइफ, ज्योति लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफले सर्वसाधारणका लागि ५ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएका हुन्।
नयाँ जीवन बीमा कम्पनीहरुमा रिलायन्स लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्काशन गरिसकेका छन्। रिलायन्स लाइफले ६३ करोड रुपैयाँ र प्रभु लाइफले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेका हुन्। उक्त शेयर अहिले दोस्रो बजारमा कारोबार समेत भइरहेका छ।
आईपीओ निष्काशन गर्न बाँकी रहेका आठ कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको शेयर निष्काशन गर्नेछन्।
आईपिओ निष्काशनका लागि ज्योति लाइफ नेपाल धितोपत्र बोर्ड पुगिसकेको छ भने अन्य केहिले बिक्री प्रबन्धक नियुक्त गरी रेटिङ्गको काम सम्पन्न गरिसकेका छन्।
बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्नका लागि चालू आर्थिक वर्षमा यी कम्पनीहरुले आईपिओ जारी गर्नुपर्ने बाध्यता छ।
नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपिओ निष्काशन गर्नेछ। सिटिजनको आईपीओलाई इक्रा नेपालले इक्राएनपी–आईआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ। ...







