विष्णु बेल्वासे
निक्षेप संकलन र कर्जा प्रवाहमा एनआइसी एशिया बैंकको ‘सिको’ गर्दै प्रभु बैंक अगाडि बढेको छ । निक्षेप संकलन र कर्जा विस्तारमा नम्बर वान बन्न पुगेको एनआइसी एशिया बैंककै बाटो प्रभु बैंक अपनाउन थालेको छ ।
पछिल्लो समय प्रभु बैंकले एनआइसी एशिया बैंकले जस्तै कर्जा र निक्षेप संकलनलाई जोड दिँदै आएको छ । प्रभुको रणनीति पनि एनआइसी एशियाकै जस्तै बनेको छ ।
प्रभु बैंकको एनआइसी एशिया बैंकसँग नाम जोडिनुको कारण
एनआइसी एशिया बैंकसँग प्रभु बैंकको नाम जोडिएर आउन थालेको छ । दुबै बैंक एक आपसमा मर्जर वा एक्विजिसनमा जाने सम्भावना भएर नाम जोडिएर आएको भने होइन् ।
पछिल्लो समय आक्रमण रुपमा व्यापार विस्तार गरेकाले प्रभु बैंकलाई एनआइसी एशिया बैंकसँग नाम जोडेर हेर्न थालिएको हो । केहीले व्यापार विस्तारमा आक्रमण भएपछि एनआइसी एशियाको ‘भाइ’ बैंकको रुपमा लिने गरिएको छ । यद्दपी चुक्ता पुँजीको हिसाबले एनआइसी एशिया बैंक भन्दा प्रभु बैंकको करिव २२ करोड मात्र कम छ ।
एनआइसी एशिया र प्रभुको चुक्ता पुँजी
एनआइसी एशिया बैंकका १९ प्रतिशत बोनस लाभांश वितरण गरेपछि चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख पुगेको छ । यसैगरी, प्रभु बैंकको पनि १० प्रतिशत बोनस शेयर वितरणपछि चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख पुगेको छ ।
दुबै बैंक निक्षेप संकलन र कर्जा लगानी आक्रमक रुपमा विस्तार गरिरहेका छन् । एनआइसी एशिया बैंकले २ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३१ अर्ब लगानी गरेको छ ।
यता, प्रभु बैंकले पनि १ खर्ब ७० अर्ब निक्षेप संकलन गरेर १ खर्ब २६ अर्ब लगानी गरेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले बताए । ‘निक्षेप संकलन र कर्जा बिस्तारलाई जोड दिँदै आएका छौं,’ उनले भने, ‘पछिल्लो समय उद्योग, व्यापार, होटल, शेयर बजारलगायतमा कर्जाको माग बढी रहेको छ ।’ केही समयअघि निक्षेप संकलनको तुलनमा कम कर्जा लगानी कम हुने गरेको थियो । अहिले पहिलाको भन्दा ठिक विपरित निक्षेप संकलन भन्दा कर्जा लगानी बढी रहेको प्रमुख कार्यकारी अधिकृत शेरचनले जानकारी दिए ।
एनआइसी एशिया बैंक पनि निक्षेप संकलन र कर्जा विस्तारमा आक्रमक देखिएको बैंकका निमित्त प्रमुख सूचना अधिकृत अर्जुनराज खनियाँले बताए । ‘बैंकका वित्तीय सूचकहरु उत्साहप्रद छन्,’ उनले भने, ‘ठूलो ऋण एउटैलाई भन्दा पनि सानो तिनो ऋण धेरैलाई दिइरहेका छौं । बैंकले २२ लाख भन्दा बढी ग्रहाकलाई सेवा दिइरहेको छ ।’