चन्द्रागिरी हिल्सको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ। आगामी शुक्रबारसम्ममा आइपीओ बाँडफाँड गर्ने तयारी गरेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
"सकेसम्म चाँडो बाँडफाँड गर्नेगरी काम गरिरहेको र यस साताभित्रै बाँडफाँड गरिसक्ने तयारी गरेका छौँ," क्यापिटलका एक प्रतिनिधिले मेरोलगानीसँग भने "कहिले गर्ने भनेर मिति तोकिएको भने छैन"।
कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गर्नेछ।
कम्पनीले बिक्री गरेको आइपीओमा अन्तिम दिनसम्ममा १७.५३ गुणा बढी अर्थात १२ लाख ५१ हजार १० जनाको आवेदन परेको छ। यो आइपीओमा परेको सबैभन्दा बढी आवेदन हो। यसअघि प्रभु लाइफको आइपीओमा ११ लाखभन्दा कम आवेदन परेको थियो।







