वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिएपछि लगानीकर्ताहरूलाई सहज हुने भने देखिन्छ भने यसका लागि सेयर बजारसम्बन्धी जनचेतना जगाउन पनि जरुरी छ ।
वाणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स दिनु पर्दछ यानी सेयर दलालको काम गर्न दिनुपर्छ भनेर आवाज उठाइरहेको पनि धेरै भइसक्यो । तर, वाणिज्य बैंकहरूलाई सेयर दलालको काम गर्न दिने वा नदिने भन्ने निर्णय नियामक निकायले अझै गर्न सकिरहेको छैन । त्यसो त यसबारेमा पुँजी बजारसम्बन्धी अध्ययन गर्न भनेर सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा बनेको संसदीय अर्थ समितिको उपसमितिले प्रतिवेदन पनि बुझाइसकेको छ । तर पनि नियामक निकायले निर्णय गर्न सकिरहेका छैन । कतिपयले त वाणिज्य बैंकहरूले सेयर दलालको काम गर्न पाउनेमा शंका व्यक्त गर्न थालेका छन् भने कतिपयको भनाइमा पुँजीबजारका नियामक निकायहरूले विद्यमान ब्रोकर कम्पनीहरूको दबाबमा वा आर्थिक लोभमा परेर बैंकलाई ब्रोकर लाइसेन्स दिनमा आनाकानी गरिरहेको हुन सक्ने पनि आशंका जनाइरहेका छन् ।
वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिन विद्यमान ५० वटा ब्रोकर कम्पनीहरूले असन्तुष्टि जनाइरहेका छन् । वाणिज्य बैंकहरूलाई सेयर दलालको काम गर्न लाइसेन्स दिए आफ्नो व्यापार–व्यवसायमा नकारात्मक असर पर्ने डर विद्यमान ब्रोकर कम्पनीहरूमा रहेको देखिन्छ । वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिँदैमा विद्यमान ब्रोकर कम्पनीहरू आफ्नो व्यापारमा नकारात्मक असर पर्छ कि भनेर आत्तिनुपर्ने भने छैन, अहिलेको जमाना भनेको प्रतिस्पर्धाको जमाना हो । अहिले हामी २१ औं शताब्दीमा छौं । अहिलेको जमाना भनेको प्रतिस्पर्धाको जमाना हो, कुनै पनि पेसा–व्यवसाय गरिरहेकाहरू प्रतिस्पर्धामा जान डराउन हुँदैन ।







