काठमाडौं । कामना सेवा विकास बैंकको ४.६३ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते बुधबार सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.४० प्रतिशत बोनस र ०.२३ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी ४.६३ प्रतिशत लाभांश पाउने छन् । २ अर्ब ५४ करोड रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी बोनस सेयर पछि २ अर्ब ६५ करोड रुपैयाँ नाघेको छ ।
बैंकले आ.व. २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक जि.पि. राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पून नियुक्ति गरेको छ । यससँगै कोभिडको प्रभाव कम हुंदै गई आर्थिक गतिविधिहरु सामान्य अवस्थामा चलायमान हुँदै गएको हुनाले शाखा सञ्जाल, बैंकिङ्ग कारोबारको संख्यामा भएको उल्लेख्य वृद्धि, कर्जा तथा निक्षेपमा भएको वृद्धि, डिजिटाइजेसनमा गरेको दिगो लगानी, बजारमा बैंकले पारेको प्रभावका कारण आगामी वर्ष राम्रो प्रतिफल प्रदान गर्नेमा विश्वस्त रहेको कम्पनीले जानकारी गराएको छ ।







