काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ३१ वटा कम्पनीले बुधबार (पुस २९ गते) एकै दिन वार्षिक साधारण सभा गर्दैछन् । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि वार्षिक साधारण सभा गर्न सूचीकृत कम्पनीहरुले अन्तिम समयसम्म पर्खिएका हुन् । नियामकीय प्रवधान अनुसार सूचीकृत कम्पनीहरुले सामान्यतयः पुस मसान्तभित्र साधारण सभा गरिसक्नुपर्छ ।
यही प्रावधानलाई पालना गर्न भन्दै पब्लिक कम्पनीहरुले तोकिएको म्यादको पनि अन्तिम दिनमा आएर मात्र सभा गर्न लागेका हुन् । बुधबार साधारण सभा गर्न लागेका सबै कम्पनीहरुको बुक क्लोज भइसकेको छ । यसआधारमा, लाभांश पाउने र साधारण सभामा भाग लिनसक्ने सेयरधनीहरुको पनि छिनोफानो भइसकेको छ । लगानीकर्ताले लाभांश पाउन साधारण सभासम्म पर्खिनुपर्ने हुन्छ ।







