काठमाडौं : सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । बिमा, हाइड्रोपावर तथा फाइनान्स समूहहरुमा बढी आकर्षण देखिएको छ । पुस मसान्तको समय भए पनि बजारले यसपटक लगानीकर्तालाई निराश पारेको छैन । क्रमशः सूचक विस्तार भइरहेको छ । लगानीकर्ताले बैंकको साँवा र ब्याज तिर्न यसअघि नै रकम व्यवस्था गरिसकेको बजारको गतिले देखाएको छ । विगत वर्षहरुमा पुस मसान्तमा बजार निकै प्रभावित हुने गरेको थियो ।
अहिले बजार बुलिस चक्रमा हिँडिरहेकाले मसान्तमा पनि वृद्धिक्रम जारी रहेको कतिपयको भनाई छ । सूचीकृत समूहका सेक्टरहरु घुमिफिरी बढिरहेका छन् । मसान्तमा पनि बजार माथि लागेकाले आम लगानीकर्तालाई मार्जिन कलको त्रास भएको छैन् । यो समग्र बजारका लागि पनि खुशीको विषय रहेको लगानीकर्ताहरुको भनाई रहेको छ । यतिबेला सेयर बजारका लागि हरेक हिसाबले उपयुक्त समय देखिएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता छ ।







