अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी (UPPER) आयोजनाबाट आगामी असारसम्ममा बिजुली उत्पादन हुने भएको छ। माथिल्लो तामाकोशी आयोजनाको पहिलो युनिटबाट आगामी चैतसम्ममा र अरु बाँकी युनिटबाट आगामी असारसम्म बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी काम भइरहेको छ।
आगामी असारसम्ममा सबै काम सकाएर बिजुली राष्ट्रिय प्रसारणलाईनमा जोडिसकिने योजना रहेको आयोजनका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए। ‘आगामी चैतसम्ममा पहिलो युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ,’ उनले भने, ‘बाँकी अन्य युनिटबाट त्यसपछि क्रमशः बिजुली उत्पादन हुँदै जानेछ र आगामी असारसम्म सबै ६ वटै युनिटबाट बिजुली उत्पादन हुनेछ।’ सुरुमा एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुने जानकारी पनि श्रेष्ठले दिए।
शेयर लगानीकर्ताले समेत प्रतिक्षा गरेको बहुप्रतिक्षित तामाकोशी आयोजनाको निर्माण सम्पन्न छिट्टै हुने समाचार आउदा बित्तीकै शेयरको मूल्य उच्च रुपमा बढ्ने र ढिलो निर्माण सम्पन्न हुने खबर सार्वजनिक भएसँगै शेयरमूल्यमा गिरावट आउने गरेको छ। उक्त आयोजनाबाट असारसम्म बिजुली उत्पादन भएपछि त्यसले शेयरबजारमा कस्तो प्रभाव पार्ला? आम लगानीकर्ता अहिले त्यही विश्लेषण गर्न थालेका छन् ।
यसअघि तामाकोशी आयोजनाबाट माघ महिना भित्र बिजुली उत्पादन हुने शुभ समाचार बाहिर आएपछि २२१ रुपैयाँमा कारोबार भइरहेको माथिल्लो तामाकोशीको शेयरमूल्य एकाएक दोब्बरभन्दा बढीले बढेको थियो। गत मंसिर २४ गते उक्त आयोजनाको शेयरमूल्य अहिलेसम्मकै उच्च ५२७ रुपैयाँसम्म पुगेको थियो।
त्यसपछि पुनः आयोजनाबाट बिजुली उत्पादन हुन ढिलो हुने समाचार सार्वजनिक भएसँगै शेयर मूल्यमा गिरावट आएको थियो। ५२७ रुपैयाँ पुगेको तामाकोशी आयोजनाको शेयर मूल्य घटेर ३८० रुपैयाँमा झरेको थियो।
अहिले माथिल्लो तामाकोशी आयोजनाको शेयरमूल्य प्रतिकित्ता ४३६ रुपैयाँमा कारोबार हुँदै आएको छ। आयोजनबाट बिजुली उत्पादन हुने मिति नजिकै गएका कारण पुनः उक्त कम्पनीको शेयरमूल्य बढ्न थालेको छ।
एक वर्षअघिदेखि नै बिजुली उत्पादन हुन थाल्ने बताइएपनि बहुचर्चित माथिल्लो तामाकोशी आयोजनाको लागत बढ्दै छ भने बिजुली उत्पादन हुने समय पनि पर धकेलिदै गएको छ।







