काठमाडौँ — प्राथमिक सेयर जारी गरेर दोस्रो बजारमा सूचीकृत हुन चाहने कम्पनीले अंकित मूल्य १ सय रुपैयाँभन्दा बढीमा निष्कासन गर्न पाउने व्यवस्था (बुक बिल्डिङ) का लागि धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता छानेको छ । बोर्डमा प्राप्त आवेदनमध्ये योग्यता पुगेका ४६ संस्थालाई अनुमति दिइएको बोर्डले जनाएको छ । संस्थागत लगानीकर्ताका लागि ६२ संस्थाले आवेदन दिएका थिए ।
संस्थागत लगानीकर्ता छनोटसँगै बुक बिल्डिङ विधिमार्फत सेयरको मूल्य निर्धारण प्रक्रिया सुरु भएको धितोपत्र बोर्डले जनाएको छ । यो व्यवस्थाले धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रूपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेशलाई प्रोत्साहित गर्ने बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको दाबी छ ।
‘वास्तविक क्षेत्रका केही कम्पनीले यस विधिमार्फत धितोपत्रको सार्वजनिक निष्कासन गर्ने तयारीसमेत गरिरहेका छन्,’ उनले भने, ‘अब ती कम्पनीलाई सेयर जारी गर्न बाटो खुल्छ ।’ आवेदन प्राप्त भएका संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिकाबमोजिमका कागजात तथा विवरण पेस गरेका ४६ संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्न बोर्डले स्वीकृति प्रदान गरेको उनले बताए ।






