काठमाडौं : नेप्सेले अंग्रेजी नयाँ सन् २०२१ लाई ठूलो उत्साहसहित हरियो कार्पेट ओछ्याएर स्वागत गरेको छ । साताको पहिलो दिन नेप्से झण्डै ८८ अंकले बढेको छ । त्यसपछि मंगलबारसम्म सानो अंकले करेक्सन भए पनि त्यसपछि फेरि बजार वृद्धिको चक्रमा अघि बढ्यो । अन्तिम दिन बिहीबार नेप्सेले अलटाइम हाई रेकर्ड बनाउन सफल भएको छ । बिहीबार नेप्से हालसम्मकै उच्च २१९४.४९ विन्दुमा बन्द भएको छ । जुन गत साताको अन्तिम विन्दु २०८७.२८ को तुलनामा ५.१४% धेरै हो ।
बिहीबार ५.८७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण २९ खर्ब ५५ करोड रुपैयाँ पुगेको छ । बजारले निरन्तर उच्च विन्दुहरु तय गरिरेको छ । प्रत्येक साताजसो अलटाइम रेकर्ड बनाउँदै अघि बढेको सेयर बजार आगामी दिनमा अझै रोचक हुने अपेक्षा गरिएको छ । बुल रन जारी रहँदा यसअघिका सबै रेकर्डहरु तोडिएका छन् । नेप्से सूचकका साथमा बजार पुँजीकरण पनि नयाँ विन्दुमा पुगेको छ ।







