दैनिक २० करोड बढी कर्जा लिएर शेयर बजारमा लगानी गर्दै लगानीकर्ता


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दैनिक २० करोड बढी कर्जा लिएर शेयर बजारमा लगानी गर्दै लगानीकर्ता

पछिल्लो समय लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट दैनिक २० करोड रूपैयाँभन्दा धेरै कर्जा लिएर शेयर बजारमा लगानी गर्ने गरेको देखिएको छ। केन्द्रिय बैंकको तथ्याङ्क अनुसार एक महिनामा नै लगानीकर्ताले ६ अर्ब ५४ करोड रुपैयाँ मार्जिन कर्जा लिएका छन्। 

गत मंसिर महिनामा मात्रै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मार्जिन कर्जा १०.६७ प्रतिशतले बढेको छ। कार्तिक अन्तिमसम्ममा ६१ अर्ब रुपैयाँ मार्जिन कर्जा लगानी भएकोमा मंसिर अन्तिम सम्ममा ६७ अर्ब मार्जिन कर्जा लगानी भएको केन्द्रिय बैंकको तथ्याङ्कले देखाउँछ।

अहिले बैंकबाट कर्जा लिएर लगानी गर्दा बैंकमा तिर्नुपर्ने ब्याज भन्दा शेयर बजारबाट बढी आम्दानी हुने भएकोले लगानीकर्ताहरु कर्जा लिएर लगानी गर्न थालेको एक लगानीकर्ताले बताए। 'अहिले बैंकबाट ८ प्रतिशत ब्याजकै हाराहारीमा  शेयर धितो कर्जा पाइन्छ,' ती लगानीकर्ताले भने 'सो ब्याजदरमा कर्जा लिएर शेयर बजारमा लगानी गर्दा बैंकलाई ब्याज तिरेर पनि केहि प्रतिशत नाफा सुरक्षित गर्न सकिन्छ।'

अहिले लगानीकर्ताले लाभांशमा आधारीत भएर लगानी गर्दा पनि राम्रा कम्पनीहरुबाट १० प्रतिशतभन्दा बढी प्रतिफल पाइरहेको अवस्था छ। यसले गर्दा लगानीकर्ताहरुले बैंकबाट कर्जा लिएर लगानी बढाएका हुन्।

मार्जिन कर्जाको लागि लगानीकर्ताहरुको पहिलो रोजाइमा वाणिज्य बैंक नै रहेको देखिएको छ। पछिल्लो समय वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको र विकास बैंक र फाइनान्स कम्पनीको भन्दा तुलनात्मक रुपमा सस्तो ब्याजदरमा वाणिज्य बैंकबाट कर्जा पाइने भएकोले पहिलो रोजाइमा वाणिज्य बैंक परेका हुन्।

वाणिज्य बैंकहरुले गत मंसिरकाे एक महिनामा नै मार्जिन कर्जा झण्डै साढे १२ प्रतिशतले बढाएका छन्। केन्द्रिय बैंकको तथ्यांक अनुसार गत मंसिर महिनामा बैंकहरुको मार्जिन कर्जा १२.३५ प्रतिशतले बढेको छ।

गत कार्तिक अन्तिम सम्ममा ५० अर्ब रुपैयाँ मार्जिन कर्जा लगानी गरेका बैंकहरुले मंसिर महिनामा ६ अर्ब भन्दा धेरै मार्जिन कर्जा लगानी गरेका छन्। गत आर्थिक वर्षको अन्तिमसम्मा ४१ अर्ब रुपैयाँ मात्रै लगानी गरेका बैंकहरुले चालु आर्थिक वर्षमा मात्रै १५ अर्ब रुपैयाँभन्दा धेरैले मार्जिन कर्जा लगानी गरेका छन्।

चालु आर्थिक वर्षमा शेयर बजार लगातार बढ्दो क्रममा छ। नेप्सेले दैनिक नयाँ रेकर्ड बनाउदै २२०० को विन्दुमा पुगिसकेको छ।

Read More
  • MBL - below news