काठमाडौं : सेयर बजार सूचक नेप्सेले बिहीबार फेरि २२ सय अंकको मनोवैज्ञानिक रेखालाई तोडेको छ । इन्ट्रा डे कारोबारमा नेप्से २२ सय अंक माथि पुगेको हो । यससँसै बजार थप माथि जान सक्ने लगानीकर्ताले अनुमान गरेका छन् । यसअघि पनि इन्ट्रा डे कारोबारमै बजार २२ सय अंकभन्दा माथि पुगेर फर्किएको थियो ।
नेप्से सूचक विस्तार हुँदै जाँदा खरिदबिक्री रकमले पनि विस्तारै सपोर्ट गरिरहेको छ । नेप्से सूचकले २२ सय विन्दुको मनावैज्ञानिक रेखा पार गरेकाले पनि लगानीकर्ता थप उत्साहित बन्नु स्वभाविक हो । पछिल्ला दिनहरुमा बजारले क्रमशः नयाँ उचाईहरु तय गरिरहेको छ ।
पुस मसान्त नजिकिंदै गर्दा सेयर बजारमा देखिएको उत्साहले सर्वसाधारण लगानीकर्ताको मनोबल थप उच्च भएको छ । बजार विस्तार भइरहँदा लगानीकर्ताले कम्पनीहरुको वित्तीय सूचकमा ख्याल गर्नुपर्छ । यो समाचार तयार पार्दासम्म नेप्से सूचक करिब २३ अंकले बढेको छ । सूचक २२०२ अंक आसपासमा छ । हाइड्रोपावर बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।






